
धनगढीस्थित चैतन्य पाठशालाले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ। पाठशालाका अध्यक्ष गणेश जोशीका अनुसार फागुन २९ र ३० गते विविध कार्यक्रम आयोजना गरी रजत जयन्ती भव्य रूपमा मनाइनेछ।

कार्यक्रमअन्तर्गत फागुन २९ गते बिहान वनदेवी मन्दिर परिसरबाट पाठशाला परिसरसम्म प्रभातफेरी निकालिनेछ भने फागुन ३० गते गुरही चोकबाट पाठशाला परिसरसम्म अर्को प्रभातफेरी आयोजना गरिनेछ। कार्यक्रममा सुदूरपश्चिमका विभिन्न समुदायका सांस्कृतिक झाँकी तथा प्रस्तुति रहनेछन्। सुदूरपश्चिम लोक सांस्कृतिक समाज, मगर समुदाय, थारु समुदाय र राना समुदायले आफ्नो मौलिक संस्कृति झल्काउने झाँकी प्रस्तुत गर्नेछन्। त्यस्तै अछामी सेवा समाजको होली नृत्य, खप्तड छान्ना लोक संस्कृति संरक्षण समूहको भुवा प्रस्तुति पनि कार्यक्रमको आकर्षण रहने आयोजकले जनाएको छ।
पाठशालासँग आबद्ध विभिन्न संस्थाहरूले समेत प्रस्तुति दिनेछन्। चैतन्य तेक्वान्डो दोजाङ्ग, चैतन्य स्पोर्ट एकेडेमी, चैतन्य लोकसेवा तयारी, चैतन्य पतञ्जली योग केन्द्र तथा चैतन्य रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले आ–आफ्ना गतिविधि र प्रतिभा प्रदर्शन गर्नेछन्। विद्यार्थी लक्षित कार्यक्रमअन्तर्गत विज्ञान प्रदर्शनी तथा स्टिम (STEAM) परियोजना प्रदर्शन, सृजनात्मक अभिव्यक्ति, चित्रकला प्रस्तुति तथा विभिन्न सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूको बहुआयामिक प्रतिभा प्रस्तुत गरिनेछ।

कार्यक्रममा प्रतिभा सम्मानसमेत गरिनेछ। अभिभावक केन्द्रित कार्यक्रमअन्तर्गत आदर्श अभिभावक सम्मान, अभिभावक शुभभाव मन्तव्य तथा अभिभावकबीच रमाइलो खेलकुद कार्यक्रम राखिएको छ। शिक्षक तथा कर्मचारीका लागि आदर्श शिक्षक तथा कर्मचारी सम्मान, उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान र उनीहरूका विशेष प्रस्तुति रहने बताइएको छ।

सामाजिक सेवा तथा शैक्षिक सहयोग कार्यक्रमलाई पनि रजत जयन्तीको महत्वपूर्ण पक्षका रूपमा समेटिएको छ। यसअन्तर्गत कैलाली बहुमुखी क्याम्पसलाई स्मार्ट बोर्ड हस्तान्तरण, धनगढी आसपासका सामुदायिक विद्यालयहरूलाई कम्प्युटर वितरण तथा सुदूरपश्चिमका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी १००० विद्यार्थीलाई निःशुल्क ब्रिज कोर्स र क्षमता विकाससम्बन्धी छात्रवृत्ति प्रदान गरिनेछ।
त्यसैगरी मानवसेवा लक्षित संस्थाहरूलाई सहयोग, सामुदायिक विद्यालयहरूलाई भौतिक तथा शैक्षिक सामग्री वितरण, पहाडी जिल्लाका सामुदायिक विद्यालयका कक्षा १० का ६००० विद्यार्थीलाई उपयोगी पुस्तक वितरण कार्यक्रम पनि तय गरिएको छ। साथै लोकसेवा तयारी कक्षामा जेहेन्दार तथा आर्थिक रूपमा विपन्न युवालाई अवसर प्रदान गरिनेछ।
रजत जयन्ती समारोहमा पूर्व सञ्चालक, पूर्व शिक्षक–कर्मचारी, पूर्व विद्यार्थी, पूर्व पिटिए अध्यक्ष तथा व्यवस्थापन समिति सदस्यहरूलाई सम्मान गरिनेछ भने वर्तमान पिटिए पदाधिकारी र व्यवस्थापन समिति सदस्यहरूलाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष जोशीले बताए।
चैतन्य पाठशालाले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, संस्कार, सामाजिक सेवा र शैक्षिक जागरणको अभियानलाई अझ प्रभावकारी र व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
































