
सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटना बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप वडा नं. १२ को पुथाला भित्री सडकमा भएको हो। जिप करिब ७८ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको छ। उनीहरूलाई जिल्ला अस्पताल सल्यानमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ। घाइतेलाई मेहलकुना अस्पताल सुर्खेत र जिल्ला अस्पताल सल्यानमा उपचारका लागि पठाइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली र स्थानीयले उद्धार कार्य गरेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























