
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएको विषयलाई लिएर विपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाएका छन्। नियमावलीमा व्यवस्था नभएको प्रक्रियाबाट प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि समय दिइएको भन्दै उनीहरूले संसदीय अभ्यास उल्लंघन भएको आरोप लगाए।

प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक भए पनि प्रक्रिया नियमअनुसार नभएको भन्दै विपक्षी सांसदहरूले आक्रोश व्यक्त गरे। सोही विषयमा सत्तापक्ष र विपक्षी सांसदहरूबीच भनाभन भएपछि वातावरण तातिएको थियो।

सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनका क्रममा केही सांसदहरूको नामै लिएर मर्यादामा बस्न पटक–पटक निर्देशन दिएका थिए। उनले विपक्षी सांसदहरूको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाए।

यसैबीच विपक्षी सांसदहरूले प्रधानमन्त्रीले “नेपालले पनि भारतको जग्गा मिचेको” भन्ने अभिव्यक्तिलाई तथ्यहीन भन्दै त्यसबारे स्पष्ट जवाफ दिन माग गरेका छन्। संसदभित्रको यो घटनाले राजनीतिक बहसलाई थप चर्काएको छ।
































