महेन्द्र राजमार्गमा अनधिकृत संरचना हटाउने प्रक्रिया तीव्र, सीमांकन र भत्काउने तयारी अन्तिम चरणमा

Image
Nisarga Hospital

अत्तरिया: सडक डिभिजन कार्यालय महेन्द्रनगरले गड्डाचौकी–अत्तरिया–चिसापानी खण्डअन्तर्गत पर्ने महेन्द्र राजमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने प्रक्रिया तीव्र पारेको छ । तोकिएको १५ दिने समयसीमा जेठ १४ गते सकिएसँगै अब बाँकी रहेका संरचनाहरूको विस्तृत पहिचान तथा सूचीकरण कार्य अघि बढाइएको कार्यालयले जनाएको छ ।

CP Hospital Dhangadhi

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश यादवका अनुसार राजमार्गको २५ मिटर दायाँ–बायाँ क्षेत्रमा बनेका संरचना हटाउन यसअघि सूचना जारी गरिएको थियो । सो सूचनाअनुसार अधिकांश संरचना समयमै हटिसकेका छन् भने करिब ८० प्रतिशत संरचना खाली भइसकेको कार्यालयको दाबी छ ।

यादवका अनुसार बाँकी रहेका संरचनाहरू जुनसुकै समयमा पनि हटाउन सकिने अवस्था रहेको छ । उनले अब सम्बन्धित पक्षलाई थप पूर्वसूचना दिनु नपर्ने भएकाले आवश्यक परे तत्कालै डोजर प्रयोग गरी हटाउने तयारी रहेको स्पष्ट पारे ।

nawajiwan

“हामीले हटाउनुपर्ने संरचनाहरूको अन्तिम एकिन गरिरहेका छौँ, ८० प्रतिशत संरचना हटिसकेका छन्,” यादवले भने, “बाँकी संरचनामा अब जुनसुकै बेला पनि कारबाही अघि बढ्न सक्छ ।”

Attariya Hospital

गत वैशाख ३० गते सडक डिभिजन कार्यालयले एक सूचना जारी गर्दै महेन्द्र राजमार्गको २५ मिटर दायाँ–बायाँका सबै अनधिकृत संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको थियो । समयसीमाभित्र नहटाइएमा कार्यालयले आफैँ हटाउने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने चेतावनी पनि दिइएको थियो ।

यसैबीच, सडक क्षेत्रमा परेका शौचालय, प्रतिक्षालयलगायत सार्वजनिक संरचनाको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरिने सडक डिभिजनले जनाएको छ । हाल सीमांकन कार्य जारी रहेकाले तत्काल सडक विस्तारको काम भने अघि नबढ्ने स्पष्ट गरिएको छ ।

सडक डिभिजनले राजमार्गलाई व्यवस्थित, सुरक्षित र अवरोधमुक्त बनाउने उद्देश्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ ।