
रोजगारीका लागि विदेश पठाइदिने भन्दै बेरोजगार युवायुवतीबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आकर्षक तलबसहित फ्रान्स, जर्जिया र माल्टा पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट कुल २९ लाख २० हजार रुपैयाँ असुलेका थिए। निमा तामाङले फ्रान्स पठाउने भन्दै २२ लाख ८५ हजार रुपैयाँ र विवेक साहले जर्जिया तथा माल्टा पठाउने भन्दै ६ लाख ३५ हजार रुपैयाँ लिएको आरोप छ।

रकम लिएपछि उनीहरू विदेश नपठाई लामो समयसम्म झुक्याएर अन्ततः सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

































