
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ तथा तातो मौसमको प्रभाव रहने जनाएको छ। विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।

हाल पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यता मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको प्रभाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अवलोकन गर्न पनि अनुरोध गरिएको छ।

































