
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आज नयाँ बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सभामा अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो। यसपटकको बजेटमा विकास प्राथमिकता, राजस्व व्यवस्थापन र पूर्वाधार निर्माणलाई मुख्य आधार बनाइने अपेक्षा गरिएको छ। बजेट सार्वजनिक हुनुअघि सम्बन्धित मन्त्रालयहरूमा अन्तिम तयारी तीव्र पारिएको छ।

केही दिनअघि मन्त्रिपरिषद् पुनर्गठन भएसँगै आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका थिए। आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेटका प्राथमिकता र कार्यक्रमहरू पुनरावलोकन गरेका छन्। आज प्रस्तुत हुने बजेटले प्रदेशको समग्र विकास दिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

































