
सरकारले नागरिकलाई आफ्नै राष्ट्रिय परिचयपत्र कार्ड अनलाइनबाट डाउनलोड गर्न मिल्ने सेवा परीक्षणका रूपमा सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि यो सेवा प्रारम्भ गरेको हो। अब नागरिकले विभागको वेबसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत आफ्नो फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

यो सेवा सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर २ मा उल्लेख गरिएको योजनाअनुसार कार्यान्वयनमा ल्याइएको हो। यसले नागरिकलाई डिजिटल माध्यमबाट सहज रूपमा परिचयपत्र उपलब्ध गराउने लक्ष्य राखेको छ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति र नागरिकता जारी मिति प्रविष्ट गरी कार्ड डाउनलोड गर्न सक्नेछन्। आवश्यक विवरण सही भए प्रणालीले परिचयपत्र उपलब्ध गराउनेछ।

यसअघि विभिन्न सार्वजनिक निकायले प्रिन्ट गरिएको परिचयपत्र वा निस्सा हेरेर सेवा दिँदै आएका थिए। अब भने क्युआर कोड स्क्यान गरी विवरण रुजु गरेर सेवा प्रवाह गर्न विभागले सबै निकायलाई अनुरोध गरेको छ। यसले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।
































