आज पनि वर्षा र तातो हावाको दोहोरो प्रभाव, सतर्कता अपनाउन मौसमविद्को आग्रह

Image
Nisarga Hospital

अत्तरियाः देशका विभिन्न क्षेत्रमा मनसुनी वायु सक्रिय रहँदा आज पनि वर्षा, मेघगर्जन, चट्याङ तथा केही स्थानमा तातो हावाको प्रभाव रहने मौसमविद्ले बताएका छन्। हाल कोशी, मधेस र बागमती प्रदेशका सबै क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

CP Hospital Dhangadhi

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ। कोशी प्रदेशको तराई, मधेसका केही स्थान तथा बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने तथा बागमती र गण्डकीका तराईमा तापक्रम बढ्न सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ।

महाशाखाले तातो हावा, चट्याङ र वर्षाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा नियमित मौसम बुलेटिनको जानकारी लिइरहन सर्वसाधारणलाई आग्रह गरेको छ।