
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। मियामी स्टेडियममा सम्पन्न खेल ०–० को नतिजासहित सकिए पनि दुवै टोली नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्न सफल भएका छन्।

खेलभर दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन। आक्रमण र प्रतिआक्रमणले भरिएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोलरक्षकले पनि प्रभावशाली प्रदर्शन गर्दै विपक्षीलाई गोल गर्न दिएनन्।

इन्जुरी समयतिर कोलम्बियाले गोल गरेको जस्तो देखिए पनि त्यो टिक्न सकेन। डाभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको क्रसलाई हेडमार्फत जाली चुमाएका थिए। तर भिडियो असिस्टेन्ट रेफ्री (VAR) को जाँचपछि उक्त गोल अफसाइड ठहर गर्दै रद्द गरियो।

अन्ततः खेल ०–० को बराबरीमा टुंगियो। बराबरीसँगै पोर्चुगल र कोलम्बिया दुवैले समूह चरण पार गर्दै विश्वकपको अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।































