देशभर फैलियो मनसुन, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

नेपालभर यस वर्षको मनसुन पूर्ण रूपमा सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु पश्चिमी सीमासम्म पुगेसँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भागमा मनसुन विस्तार भएको छ। यससँगै यो वर्षको मनसुन देशभर फैलिएको औपचारिक घोषणा गरिएको छ।

CP Hospital Dhangadhi

सामान्यतया नेपालमा मनसुन जुन १३ तारिखदेखि पूर्वी क्षेत्रमा प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो। कोशी प्रदेशबाट सुरु भएको मनसुन विस्तार हुँदै देशभर पुग्न यसपटक १२ दिन लागेको महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा घना बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशीका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

nawajiwan
Attariya Hospital

आज देशभर पूर्णतया बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले मौसमको निरन्तर निगरानी गरिरहेको जनाउँदै अद्यावधिक मौसम सूचना नियमित रूपमा हेर्न र सम्भावित वर्षा तथा बाढी–पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।