
पाकिस्तानको पञ्जाब प्रान्तस्थित लाहोरमा मंगलबार भएको दर्दनाक दुर्घटनामा ट्युसन सेन्टरको छत भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि सुरक्षाकर्मीले तत्काल उद्धार तथा राहत अभियान सञ्चालन गरेका थिए। उद्धार टोलीले भवनभित्र फसेका २० जना बालबालिकालाई सकुशल बाहिर निकालेको जनाएको छ। बीबीसी उर्दूका अनुसार दुर्घटनाका बेला ट्युसन सेन्टरमा करिब ३५ जना बालबालिका उपस्थित थिए। घाइतेमध्ये एक जना शिक्षक पनि रहेका छन्।
घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले तत्काल विस्तृत छानबिन गर्न निर्देशन दिएकी छन्। उनले प्रहरीसँग घटनाबारे विस्तृत प्रतिवेदन पनि मागेकी छन्।


प्रहरीले हालसम्म भवनका घरधनीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। डीआईजी अपरेसन फैसल कमरानका अनुसार दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक प्रमाण संकलन भइरहेको छ। दोषी देखिने व्यक्तिविरुद्ध कानुनी प्रक्रिया पूरा गरी कडा कारबाही गरिने उनले बताएका छन्।
यस घटनाले भवन सुरक्षाको अवस्था र शैक्षिक संस्थामा अपनाइने सुरक्षा मापदण्डमाथि गम्भीर प्रश्न उठाएको छ।
































