
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी थालेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, छिटोछरितो, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकासको काम अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एपीआईमार्फत आबद्ध हुने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुने व्यवस्था गरिनेछ।
यस प्रणालीमा सरुवा आवेदनका लागि ‘फ्ल्यागिङ’ सुविधा पनि रहनेछ, जसले दोहोरिएका, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदन सहज रूपमा पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ’ प्रणालीमार्फत अनलाइनमै हेर्न सक्नेछन्।


सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन् भने आवश्यक परे अन्य सरकारी निकायसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था मिलाइनेछ। सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने पनि मन्त्रालयले जनाएको छ।
मन्त्री प्रतिभा रावलले डिजिटल सरुवा प्रणालीले कर्मचारी प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र विश्वासयोग्य बनाउने विश्वास व्यक्त गर्दै यसबाट सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने र सेवा प्रवाह थप प्रभावकारी हुने बताइन्।
































