
अमेरिका पठाउन लागिएका सुनचाँदीका विभिन्न गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा बौद्धका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलबार साँझ विमानस्थलको कार्गो कम्प्लेक्सबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा रहेको उल्लेख गरिएको कार्गो परीक्षणका क्रममा सुनचाँदीका गहना फेला परेका थिए।

बरामद गरिएका सामग्रीमा नौगेडी, चन्द्रमा, जन्तर, विभिन्न प्रकारका ब्रोच, नेपालको झन्डाअंकित ब्रोच, मंगलसूत्र, मोतीमाला, त्रिशूल, नेक्लेस, काँडावाला चुरा, शिरबन्दी, झुम्का र सिक्रीलगायतका बहुमूल्य गहना रहेका छन्।

प्रहरीका अनुसार ती गहना युनिक कार्गोमार्फत अपेक्स लजिस्टिक प्रालिले अमेरिका पठाउने तयारी गरेको थियो। पक्राउ परेका दुवै व्यक्ति तथा बरामद गरिएका गहना थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।































