
कर्णाली राजमार्गअन्तर्गत दैलेख सडकखण्डमा यात्रुवाहक फोर्स गाडी दुर्घटनाग्रस्त भई कर्णाली नदीमा डुब्दा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। नदीको जलसतह बढेको र गाडी पूर्ण रूपमा पानीमुनि डुबेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको हो।

दुर्घटनास्थलबाट एक पुरुषलाई भिरमा अचेत अवस्थामा जीवित उद्धार गरिएको छ। उनको परिचय खुल्न बाँकी छ। प्रहरी, सशस्त्र प्रहरी, नेपाल गुल्म दैलेख तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका सुरक्षाकर्मी उद्धार सामग्रीसहित घटनास्थलमा खटिएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाको नेतृत्वमा गोताखोरसहितको टोली पनि सुर्खेतबाट घटनास्थलतर्फ परिचालित भएको छ। प्रारम्भिक जानकारीअनुसार गाडी सुर्खेतबाट बिहान ८ बजे छुटेको र कम्तीमा पाँच जना सवार रहेको बताइए पनि यात्रुको यकिन संख्या अझै खुल्न सकेको छैन। दुर्गम भौगोलिक अवस्थाका कारण घटनाबारे थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।































