
देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। मधेस प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

आज राति पनि मौसममा खासै सुधार नआउने जनाइएको छ। हिमाली क्षेत्रका थोरै तथा पहाडी क्षेत्रका केही स्थानसँगै तराईका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र तथा यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

































