गेटा विश्वविद्यालय विवाद : डा. गोविन्द केसीको अनशनप्रति धनगढीका नागरिक अगुवाको आपत्ति, ‘पढाइ रोक्ने होइन, तत्काल सञ्चालन गर्नुपर्छ’

Image
Nisarga Hospital

धनगढी: गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम तयारी भइरहेका बेला डा. गोविन्द केसीले थालेको अनशनप्रति धनगढीका नागरिक समाजका अगुवाहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले अहिलेको अवस्थामा अनशनले विश्वविद्यालय सञ्चालन प्रभावित हुने आशंका व्यक्त गर्दै यसलाई सुदूरपश्चिमको हितविपरीत कदमको रूपमा व्याख्या गरेका छन्।

CP Hospital Dhangadhi

नागरिक अगुवा खडकराज जोशी, प्रमोद पाठक र व्यवसायी दिनेशराज भण्डारीले संयुक्त रूपमा विश्वविद्यालय तत्काल सञ्चालन गरी यही शैक्षिक सत्रबाट एमबीबीएस अध्ययन सुरु गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले डा. केसीले विगतमा उठाएका स्वास्थ्य सुधारसम्बन्धी अभियानप्रति सम्मान रहे पनि अहिलेको अनशनको समय र माग उपयुक्त नभएको बताएका छन्।

नागरिक अधिकारकर्मी खडकराज जोशीले सुदूरपश्चिमका लाखौं नागरिकको लामो संघर्षपछि विश्वविद्यालय सञ्चालनको चरणमा पुगेको अवस्थामा अनशन सुरु हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनका अनुसार अहिले सबैको प्राथमिकता विश्वविद्यालय सञ्चालन र गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा विस्तार हुनुपर्छ।

nawajiwan
Attariya Hospital

नागरिक अगुवा प्रमोद पाठकले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय कार्यान्वयन गर्दै यही वर्षदेखि पठनपाठन सुरु गर्नुपर्ने बताए। उनले विश्वविद्यालय स्थापना भइसकेपछि त्यसको कार्यान्वयनमा कुनै अवरोध आउन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

व्यवसायी दिनेशराज भण्डारीले आफू विगतमा डा. केसीका अभियानहरूको समर्थक भए पनि विश्वविद्यालय सञ्चालनको चरणमा मेडिकल कलेजको माग अघि सारेर अनशन गर्नु उचित नभएको बताए।

यद्यपि, डा. केसीको आन्दोलनप्रति फरक धारणा राख्ने पक्ष पनि छन्। केही निजी स्वास्थ्य क्षेत्रसँग आबद्ध व्यक्तिहरूले भने उनको अनशनलाई समर्थन गरेका छन्। यससँगै गेटा विश्वविद्यालयको विषयमा सुदूरपश्चिममा बहस तीव्र बन्दै गएको छ।