
अत्तरिया : स्थापना दिवसलाई औपचारिक समारोहभन्दा सामाजिक सेवामार्फत अर्थपूर्ण बनाउने उद्देश्यसहित अछामी छोरीबेटी समाजले कैलालीको अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग प्रदान गरेको छ ।

समाजको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब ४५ जना अनाथ, असहाय तथा अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाले आश्रय लिइरहेको सेभ हाउसमा दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै अछामी छोरीबेटी समाज कैलालीकी अध्यक्ष भवानी शाहले समाजले स्थापना कालदेखि नै विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे । स्थापना दिवसलाई केवल औपचारिक रूपमा मनाउनु भन्दा समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले सेभ हाउसलाई खाद्यान्न सहयोग गरिएको उनले बताइन । आगामी दिनमा पनि महिला, बालबालिका, असहाय तथा विपन्न समुदायलाई लक्षित यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता उनले व्यक्त गरिन ।


महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले अछामी छोरीबेटी समाज कैलालीप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आश्रित बालबालिकाको दैनिक पालनपोषण, शिक्षा तथा आवश्यक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्ने बताइन । समाजका विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पु¥याउने विश्वास समेत उनले व्यक्त गरिन ।
कार्यक्रममा सहभागी गोदावरी नगरपालिकाकी पूर्व उपप्रमुख रत्ना कडायतले सानोसानो सहयोगले पनि बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै यस्ता सेवामूलक अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताइन ।
कार्यक्रममा अछामी छोरीबेटी समाज कैलालीका पदाधिकारी, समाजसेवी, स्थानीय बुद्धिजीवी, सेभ हाउसका कर्मचारी तथा आश्रित बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहयोग र सहकार्यको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
































