
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न स्थानमा सामाजिक तथा धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता, सहिष्णुता र मेलमिलापलाई सुदृढ बनाउन आग्रह गरेका छन्।

बिहीबार निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी ‘सद्भाव सन्देश’मा उनले सुनसरीको देवानगञ्ज क्षेत्रमा हालै भएको द्वन्द्वका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी प्रदेशका अन्य क्षेत्रमा समेत फैलिएकोप्रति दुःख व्यक्त गरेका छन्।

नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिस मिलेर बसेको देश भएको उल्लेख गर्दै उनले यही विविधतामा रहेको एकताले विश्वसामु नेपालको पहिचान र सम्मान स्थापित गरेको बताए। यस गौरवमाथि कुनै पनि प्रकारको आँच पुग्न नहुने उनको भनाइ छ।

पूर्वराजा शाहले समाजका सबै समुदायबीचको सद्भाव नेपालको मौलिक मूल्य र पहिचान भएको उल्लेख गर्दै हिंसा, द्वन्द्व र विभाजन निम्त्याउने गतिविधि राष्ट्रिय हितविपरीत हुने बताएका छन्। उनले देशका सबै नेपालीलाई संयम अपनाउँदै आपसी समझदारी, सहकार्य र मेलमिलापका साथ अघि बढ्न आग्रह गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।































