धनगढीमा ग्यासको हाहाकार होइन, दुई कम्पनीले आपूर्ति नगर्दा आंशिक अभाव

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्यासको हाहाकार भएको भन्ने हल्ला गलत रहेको स्थानीय प्रशासनले जनाएको छ। दुई कम्पनीले करिब एक सातादेखि सिलिन्डर बजारमा आपूर्ति नगर्दा केही उपभोक्ताले आंशिक अभावको समस्या भोग्नुपरेको प्रशासनले स्पष्ट पारेको हो।

CP Hospital Dhangadhi

बजारमा ग्यास अभाव भएको हल्ला फैलिएपछि सोमबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री नेतृत्वको टोलीले धनगढीका ग्यास डिलर तथा आधिकारिक बिक्रेताको अनुगमन गरेको थियो। अनुगमनका क्रममा मनकामना र भेरी ग्यासले विगत एक सातादेखि सिलिन्डर बजारमा नपठाएको पाइएको खत्रीले बताए।

Attariya Hospital

उनका अनुसार रेडियन्ट र शैपाल कम्पनीका ग्यास भने बजारमा पर्याप्त रहेको पाइएको छ। हल्लाका कारण एउटै व्यक्ति तथा होटल व्यवसायीले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्दा वास्तविक उपभोक्ता समस्यामा पर्न सक्ने भएकाले प्रशासनले सचेत गराएको छ।

nawajiwan

अनुगमनका क्रममा डिलर तथा बिक्रेतालाई एक व्यक्तिलाई एकभन्दा बढी सिलिन्डर बिक्री नगर्न र ग्राहकको पहिचान गरेर मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइएको छ। विशेषगरी डेरामा बस्ने विद्यार्थी तथा पहुँच कम भएका उपभोक्ता ग्यासबाट वञ्चित हुनसक्ने भन्दै प्रशासनले सबैलाई संयमित हुन आग्रह गरेको छ।

स्थानीय प्रशासनले कृत्रिम अभाव सिर्जना गरी ग्यासको कालोबजारी गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै आपूर्तिकर्तालाई नियमित आपूर्ति कायम गर्न समेत आग्रह गरिएको छ।