गेटाको विश्वविद्यालय परिसरमा शहीद दशरथ चन्दको शालिकसहित पार्क बनाउन माग

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–५, गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा शहीद दशरथ चन्दको शालिकसहितको पार्क निर्माण गर्न माग गरिएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय प्रशासन तथा सम्बन्धित सरोकारवालासँग पार्क निर्माणको माग राखेको हो।

CP Hospital Dhangadhi

समितिका सदस्य लोकेन्द्र धामीका अनुसार पार्क निर्माणका विषयमा विश्वविद्यालय र सरोकारवालाबीच पहिलो चरणको अनौपचारिक छलफल सकारात्मक भएको छ। देशका लागि महत्वपूर्ण योगदान र बलिदान दिने व्यक्तित्वको सम्मान तथा नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउन शालिकसहितको पार्क आवश्यक रहेको समितिको भनाइ छ।

शहीद दशरथ चन्द नेपालमा जहानियाँ राणा शासनको अन्त्यका लागि जीवन बलिदान दिने चार शहीदमध्ये एक हुन्। तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते चन्दलाई काठमाडौंको शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो।

nawajiwan
Attariya Hospital

राणा शासनविरुद्धको आन्दोलनमा चन्दले पुर्‍याएको योगदानलाई स्मरण गर्दै उनको सम्मानमा विश्वविद्यालयको नामसमेत ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ राखिएको हो। विश्वविद्यालय परिसरमै शालिक र पार्क निर्माण भएमा यसले उनको योगदानलाई जीवन्त राख्नुका साथै विद्यार्थी, अभिभावक तथा विश्वविद्यालयमा आउने आगन्तुकका लागि ऐतिहासिक तथा प्रेरणादायी स्थलका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समन्वय समितिले अब विश्वविद्यालय प्रशासन, स्थानीय तह र अन्य सरोकारवालासँग आवश्यक समन्वय गरी पार्क निर्माणको प्रक्रिया अघि बढाउन पहल गर्ने जनाएको छ।