सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट, आजै शपथको तयारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

CP Hospital Dhangadhi

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्। भट्टले नेकपा एमालेको समर्थनमा तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।

भट्टले दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले आजै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ। नेकपाका एक प्रदेशसभा सदस्यका अनुसार बिहान ११ बजे नियुक्ति भएपछि दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।

मुख्यमन्त्री बनेलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। सत्ता समीकरणअनुसार सरकारलाई तत्कालै पूर्णता दिनुभन्दा सीमित मन्त्रीसहित काम अघि बढाउने तयारी गरिएको बताइएको छ।

यसअघि मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। अब भट्टले प्रदेशसभामा आफ्नो पक्षमा रहेको समर्थन प्रस्तुत गर्दै सरकार गठन गर्नेछन्। एमालेको समर्थनसँगै उनको दाबीलाई बहुमत पुग्ने आधारका रूपमा हेरिएको छ।

भट्ट मुख्यमन्त्री बनेसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरणमा समेत परिवर्तन आउने भएको छ। नयाँ सरकारले प्रदेशका विकास निर्माण, बजेट कार्यान्वयन र जनचासोका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।