
धनगढीस्थित नवजीवन अस्पताल प्रालिले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको राहतका लागि सहयोग रकम प्रदान गरिएको हो। उक्त रकम बुधबार कोषमा जम्मा गरिएको उनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशभरबाट राहत तथा सहयोग जुटिरहेको अवस्थामा नवजीवन अस्पतालले पनि मानवीय सहयोगस्वरूप रकम प्रदान गरेको हो।

अस्पतालले विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।

यसैबीच, अस्पतालले बाढीमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढीमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै अस्पतालले मृतकहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ।
त्यस्तै, बाढीपछि सम्पर्कविहीन रहेका नागरिकहरू सकुशल फेला पर्ने आशा व्यक्त गर्दै उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ। अस्पतालले विपद्को समयमा सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा योगदान दिनुपर्नेमा जोड दिएको छ।
































