
अमेरिकाले इरानका विभिन्न सैन्य संरचनामाथि ठूलो हवाई हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै मिसाइल तथा ड्रोनबाट जवाफी आक्रमण गरेको छ। पछिल्लो घटनाक्रमसँगै केही समयदेखि तुलनात्मक रूपमा शान्त रहेको अमेरिका–इरान द्वन्द्व पुनः प्रत्यक्ष सैन्य टकरावतर्फ धकेलिएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का हवाई प्रतिरक्षा प्रणाली, रडार, समुद्री सैन्य संरचना, सञ्चार केन्द्र तथा समुद्री बारुदी सुरुङ बिछ्याउने क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाइएको थियो। इरानी सञ्चारमाध्यमले भने विभिन्न क्षेत्रमा अमेरिकी आक्रमण भएको दाबी गरेका छन्।
जवाफी कारबाहीअन्तर्गत इरानले जोर्डन, बहराइन र उत्तरी इराकको एर्बिल क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। जोर्डनले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका १३ मध्ये १० ब्यालिस्टिक मिसाइल खसालेको जनाएको छ। बहराइनले पनि इरानी ड्रोनलाई आफ्नो क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरिएको बताएको छ। प्रारम्भिक अमेरिकी सूचनाअनुसार जोर्डनमा भएको आक्रमणबाट अमेरिकी सैनिक हताहत भएको पुष्टि भएको छैन।

यसैबीच, अमेरिकी आक्रमणका कारण इरानको सिरिकनजिक भएको विवाह समारोहमा पाँच जनाको मृत्यु र ५० जना घाइते भएको इरानी रेड क्रिसेन्टले जनाएको छ। मृतकमध्ये चार वर्षका बालकसमेत रहेको इरानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
द्वन्द्वको केन्द्रमा रहेको स्ट्रेट अफ हर्मुज मा तनाव थप गहिरिएको छ। विश्वमा खपत हुने प्रत्येक पाँच ब्यारेल तेलमध्ये करिब एक ब्यारेल यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले विश्व ऊर्जा बजारमा गम्भीर असर पार्ने जोखिम बढेको छ। युद्ध सुरु भएपछि इरानले हर्मुजबाट हुने तेल ढुवानी प्रभावकारी रूपमा बन्द गरिदिएको बताइएको छ।

पछिल्लो तनावसँगै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल चार डलरभन्दा बढीले बढेर पाँच महिनायताकै उच्च स्तरमा पुगेको रोयटर्सले जनाएको छ।
इरानका सभामुख मोहम्मद बाघेर घालिबाफले इरानलाई फारसको खाडीबाट तेल निर्यात गर्न रोकिए अन्य कुनै देशलाई पनि तेल निर्यात गर्न नदिने चेतावनी दिएका छन्। आईआरजीसीले पनि हर्मुजमाथिको नियन्त्रण अझ कडा बनाउने संकेत गरेको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई थप जवाफी कारबाही नगर्न चेतावनी दिँदै त्यसो भए अझ ठूलो र कडा सैन्य कारबाही गर्ने धम्की दिएका छन्।
जुनमा भएको युद्धविरामसम्बन्धी सहमति लामो समय टिक्न नसकेपछि अमेरिका–इरान तनाव पुनः बढेको हो। हर्मुजबाट हुने तेल ढुवानी र इरानको नियन्त्रणबारे मतभेद बढ्दै जाँदा पछिल्लो संकटले क्षेत्रीय सुरक्षासँगै विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमाथि समेत गम्भीर दबाब सिर्जना गर्ने संकेत देखिएको छ।































