
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न दक्षिण कोरियाको ११ सदस्यीय विपद् राहत टोली (केडीआरटी) बुधबार बिहान नेपाल आइपुगेको छ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोरियाली टोली विशेष विमानमार्फत नेपाल आएको हो। टोलीले खोज तथा उद्धारमा प्रयोग हुने अत्याधुनिक उपकरणसँगै प्रशिक्षित उद्धार कुकुरसमेत ल्याएको छ। टोली बुधबार नै बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार अभियानमा सहभागी हुने तयारीमा छ।
यसअघि दक्षिण कोरियाबाट चार सदस्यीय अर्को सानो टोली नेपाल आएर प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिइसकेको छ। नयाँ टोलीसमेत थपिएपछि उद्धार अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


बस्नेतका अनुसार कोरियाली उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा परिचालित हुनेछ। आवश्यक प्राविधिक क्षमता, उपकरण र दक्ष जनशक्तिको समन्वयमार्फत सम्भावित जीवितको खोजीलाई प्राथमिकता दिइनेछ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी ले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि विभिन्न क्षेत्रमा मानिसहरू बेपत्ता भएका छन्। यसै क्रममा ९ जना कोरियाली नागरिकसमेत सम्पर्कविहीन रहेको बताइएको छ। दक्षिण कोरियाको विशेष खोज तथा उद्धार टोलीको आगमनले जोखिमपूर्ण क्षेत्रमा जारी उद्धार अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ।































