
बैतडी:

बझाङको केदारस्युँ गाउँपालिका – ४ बागथलामा शनिबार भएको अटो दुर्घटनामा घाइते भएका सिगास गाउँपालिका – ६, बैतडीका पाँच जनासहित ६ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिगास गाउँपालिकाले उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
भदौ २० गते दिउँसो करिब २ बजेर ३० मिनेटमा देउराबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ घ ६०१२ नम्बरको अटो दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सिगास गाउँपालिका–६ का १५ वर्षिय लोकेश साउद, १४ वर्षिय अस्मिता साउद, १६ वर्षिय लक्ष्मण साउद, १६ वर्षिय गंगा साउद र १९ वर्षिय योगेन्द्र साउद तथा केदारस्युँ गाउँपालिका–१, बझाङका १९ वर्षिय योगेश भण्डारी घाइते भएका छन् । उपलब्ध विवरणअनुसार घाइते सबैलाई उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको छ ।
सिगास गाउँपालिका अध्यक्ष हरि सिंह धामी द्वारा हस्ताक्षरित सूचनामा गाउँपालिकाले दुर्घटनाबाट घाइते भएका आफ्ना नागरिकसहित सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
गाउँपालिकाको यो पहलले दुर्घटनामा घाइते भएका नागरिकको उपचारमा स्थानीय सरकारको अभिभावकीय भूमिका र जिम्मेवारीप्रतिको संवेदनशीलता देखाएको छ ।

































