
डोटीः डोटीको दिपायल सिलगढी नगरपालिकाको आयोजना एवं जिल्ला भलिबल संघ डोटीको व्यवस्थापनमा आयोजित “बडादशैं खसी कप भलिबल प्रतियोगिता २०८३” को उपाधी मनकामना रेस्टुरेन्ट एन्ड लज दिपायलले हात पारेको छ ।
प्रतियोगितामा विजेत टिमले रु.२५ हजार बराबरको खसी सहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिं खड्काले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
त्यस्तै सिलगढीस्थित भैरवप्रसाद गणको नेपाली सेनाको टिम द्वितीय भएको छ । उक्त टिमलाई रु.४ हजारको भाले सहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइएको छ ।
त्यस्तै आदर्श गाउँपालिका वडा नम्बर ५ को टिमले तृतीय स्थान प्राप्त गरेको छ । उक्त टिमलाई रु.२ हजारको भाले सहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइएको दिपायल सिलगढी नगरपालिका खेलकुद शाखा प्रमुख राज बहादुर खड्काले जानकारी दिए ।
प्रतियोगितामा ९ टिमले नाम दर्ता गराए पनि जम्मा ५ टिम सहभागी भएको खड्काले बताए । शैलेश्वरी स्पोर्ट्स क्लब सिलगढी र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को टिमले सान्त्वना स्थान हात पारेका थिए ।
हिजो असोज २८ गतेदेखि आयोजित प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने भनिए पनि थोरै टिमको सहभागीताका कारण दुई दिनमै सकिएको हो ।
समापन समारोहका अध्यक्ष एवं दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले प्रतियोगितामा विजेता, उपविजेता टिमलाई बधाई सहित प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित समापन गरेका थिए ।



































