आजदेखि कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान सुरु, यस्तो छ धार्मिक महत्त्व

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक परम्पराका रूपमा रहेको कात्तिक स्नान, तुलसीको विशेष पूजा आराधना तथा आकाशदीपदान आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म यी धार्मिक गतिविधि सञ्चालन गर्ने परम्परा छ।

CP Hospital Dhangadhi

धार्मिक मान्यताअनुसार यस अवधिमा बिहान सूर्योदयअघि स्नान गरी तुलसीको पूजा आराधना र भगवान् विष्णुको नाममा आकाशदीपदान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ। कात्तिक महिनाभरि नियमित रूपमा स्नान, पूजा र दीपदान गरेमा सौभाग्य, सम्पत्ति तथा जीवनमा सुख–समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

आकाशदीपदान गर्दा सकेसम्म बाँसको लिङ्गो ठड्याएर दीप बाल्ने चलन छ। बाँस उपलब्ध नभएमा पलाँस, खयर वा पीपलको लिङ्गो प्रयोग गर्न सकिने धार्मिक मान्यता छ। यसरी बालिएको दीप भगवान् विष्णुलाई समर्पण गरिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कात्तिक महिनामा घरघरमा तुलसीको विशेष पूजा गर्ने परम्परा पनि छ। धार्मिक विश्वासअनुसार सूर्योदयअघि नै तुलसीको पूजा आराधना गरी व्रत तथा धार्मिक कर्म गरेमा मनोकामना पूरा हुनुका साथै पापबाट मुक्ति मिल्ने मान्यता छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गर्दा महापातकबाट समेत मुक्त भइने धार्मिक विश्वास रहेको छ।

शास्त्रीय मान्यताअनुसार कात्तिक स्नान गर्ने व्यक्तिले यस अवधिमा दुई दल भएका मास, मुगी, मुसुरो, चना र भटमासजस्ता अन्न खान नहुने उल्लेख छ। यद्यपि, यस्ता आहारसम्बन्धी परम्परा पालना गर्ने चलन धार्मिक आस्था र पारिवारिक संस्कारअनुसार फरक हुन सक्छ।

यसैबीच, आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा भने गएराति सम्पन्न भएको छ। शास्त्रीय मान्यताअनुसार मध्यरातमा पूर्णिमा परेका दिन कोजाग्रत पूर्णिमा मनाइन्छ भने सूर्योदय तथा सायंकालमा पूर्णिमा परेका दिन पूर्णिमा व्रत, कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना सुरु गरिन्छ। यससँगै हिन्दू धर्मावलम्बीहरूका घरघरमा एक महिनासम्म चल्ने कात्तिक महिनाको धार्मिक अनुष्ठान प्रारम्भ भएको छ।

Dhnagadhi & Krishanapur