
लगातारको उतारचढावबीच नेपाली बजारमा सुनको मूल्यले पुनः उकालो यात्रा तय गरेको छ। अघिल्लो दिन ठूलो गिरावट आएको सुनको भाउ सोमबार एकैदिन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा झरेको थियो।
एकदिनमै भएको ठूलो गिरावटपछि सुनको मूल्यमा पुनः वृद्धि देखिएसँगै बजारमा मूल्यको उतारचढाव कायमै रहेको छ।




यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा देखिएको निरन्तरको उतारचढावले उपभोक्ता तथा व्यवसायी दुवैको ध्यान तानेको छ।

































