
अत्तरिया: नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा बजार अनुगमन गरेको छ। चाडपर्वको समयमा उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित सामग्री उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले विभिन्न पसल तथा व्यवसायमा अनुगमन गरेको हो।
नगर उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा शनिबार बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा विशेषगरी मिठाई पसलहरूमा खाद्य सामग्रीको गुणस्तर, लेबलिङ, उत्पादन तथा उपभोग्य मिति र बिक्रीका लागि राखिएका सामग्रीको अवस्थाबारे निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा केही मिठाईमा आवश्यक लेबल नराखिएको तथा केही पसलमा प्लास्टिकका माला बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका आर्थिक विकास अधिकृत समुद्र धामीले जानकारी दिए। उनका अनुसार मापदण्डविपरीतका सामग्रीसमेत बरामद गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नायब सुब्बा तोयनाथ ओझाले व्यवसायीहरूलाई खाद्य सामग्रीमा अनिवार्य रूपमा लेबल राखेर मात्रै बिक्री गर्न आग्रह गरिएको बताए। उपभोक्ताले पनि सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति तथा गुणस्तरबारे विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
यसैबीच, अनुगमनका क्रममा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेका अस्थायी व्यापारका कारण आफूहरू समस्यामा परेको व्यवसायीहरूले गुनासो गरेका छन्।
अत्तरिया बजारकी व्यवसायी भागरथी विष्टले पसल सञ्चालनका लागि भाडा तिर्ने, व्यवसाय दर्ता गर्ने र नियमअनुसार कारोबार गर्ने व्यवसायीहरूलाई सडक तथा फुटपाथमा बिना दर्ता व्यापार गर्नेहरूका कारण समस्या भइरहेको बताइन्।
उनले सडक ओगटेर ठेला तथा अस्थायी संरचनामार्फत गरिने व्यापारले आवागमनसमेत प्रभावित हुने भन्दै नगरपालिका र उद्योग वाणिज्य संघले बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरिन्।
नगर उपप्रमुख रोकायाले चाडपर्वका समयमा उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राखेर बजार अनुगमन गरिएको बताइन्। उनले उपभोक्तालाई सामग्री खरिद गर्दा गुणस्तर र म्याद जाँच गर्न तथा व्यवसायीलाई प्रचलित मापदण्ड र नियमअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरिन्।







































