दीपेन्द्रको अर्धशतक र बलरको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्लेअफमा, काठमाडौं ७ रनले पराजित

Image
Nisarga Hospital

कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतक र बलरहरूको प्रभावशाली प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

CP Hospital Dhangadhi

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि राशिद खानले अविजित ३५ र दुसान हेमन्थाले २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। सुरुवातमै ८ रनमा ४ विकेट गुमाएको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रले सम्हालेका थिए। उनले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन जोडे।

जितसँगै सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार चार खेल जितेको काठमाडौं भने पहिलो हारसँगै ८ अंकसहित तेस्रो स्थानमा छ। काठमाडौंले अब पोखरा एभेन्जर्ससँग अन्तिम खेल खेल्नेछ।