गोदावरीको बास्कोटामा तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु, क्रिकेट र भलिबलमा प्रतिस्पर्धा हुँदै

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटामा तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। ज्वालादेवी युवा क्लबको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi

क्लबका अध्यक्ष महेश्वर भट्टको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा वडा नम्बर ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वडासदस्यहरू शेरबहादुर घर्तिमगर, तारासिंह छेडाल, ईश्वरा नेपाली र रेश्मी देवी चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा १० टिम र वडास्तरीय महिला भलिबलमा ५ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। क्रिकेट प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

क्रिकेटतर्फ विजेता टिमले ४१ हजार र उपविजेताले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिला भलिबलतर्फ विजेताले २१ हजार र उपविजेताले ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका–४ को वडा कार्यालय रहेको छ। बास्कोटा सामुदायिक वन उपभोक्ता समिति प्रायोजक तथा बास्कोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र खैराना सामुदायिक वन उपभोक्ता समिति सहप्रायोजक रहेका छन्।

स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा युवाहरूबीच आपसी सद्भाव र एकता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।