
कहाँ माता तिम्रो तनय सवको आचँल कहाँ ।
बनायो आफैमा उदर तनमा वालक यहाँ ।।
अपारै साराको जनम जननी हो मति सरी ।
यही गाएँ मैले नमन जननी मा भर परी ।।

बिधाता को सीमा अतित पर आमा तनयको ।
यही मैले गाएँ विनय जननी नेकि जसको ।।
कहाँ माया उन्को कति गुण र कस्तो विनय को ।
उनैका पाऊमा मन वचन सारा तनय को ।।
जहाँ मैले पाएँ अमृत मय वाणी जनमको ।
उनैको यो वेला स्तुति वचन गाएँ मधुरको ।।
कहाँ माया होला तदपि जननीको चरणमा ।
रमी चोखो पाँरु भनिकन परेको शरणमा ।।

सवैकी भर्ता हो सकल जन को पालक तिमी ।
दयाकी संज्ञाले जनम तहमा व्यापक तिमी ।।
छ आमाको लीला सकल गुणमा एक रस हो ।
छ आत्माको पाटो विनय तिर लाने उपज हो ।।
कसोरी के गर्दा कुन विधि कताबाट जगमा ।
उदायो आमाले तनय सवको यो भुवनमा ।।
सदा शंका गर्ने कतिपय निरा संन्ततिहरु ।
सदै ठूलो ठान्ने सकल जगको संम्पति वरु ।।
सधै नै आमाले विविध थरीका काम जगमा ।
सधै आफू भोकी सकल जनको मोज पछि ता ।।
वनाई को सक्ला रहित जननी सार वलले ।
गरे शंका सारा वरद जननी भोगि मनले ।।
कुनै छोरा छोरी जनम जननी सेवक कति ।
कुनै छोरा छोरी निच चलनका रोचक कति ।।
नदी झै घुम्तीमा सव पथ तिमी सागर सरी ।
सवै मा ब्याप्तै छौं सकल जनको भार लहरी ।।
परानी यो सारै पवन सहिता जन्म जननी ।
हुने तिम्रो शोभा जनम भरिको भेट जननी ।।
सवै माया पाई सव जन भएँ कर्म सहित ।
दया देऊ माता विषप मन तृष्णा सद चित ।।
यहाँ स्थायी कोही क्षण्कि भरका यी कति, भने ।
धरा झै स्थायी झै उभय पथमा चर्चित हुने ।।
यहाँ लज्जा व्यथै कलह जगका वाद किन हो ।
वसी तिम्रै गाऊँ पुर जनम गाथा मधुर हो ।।
नियाले आत्माले सकल जगको हो ति जननी ।
दिने रोजी रोटी सकल जनकी हो ति अवनी ।।
नजाने रै सीमा विनय जननीका चरणमा ।
अज्ञानी को सेवा सफल भव मा यो शरणमा ।।
घमण्डी छोराले सफल विजयी शासन गरे ।
सतार्इृ पारे रै सकल जनको तर्सित गरे ।।
सधै आफ्नो मात्रै नमन गरने यो जगतमा ।
विलाई जाने हो सकल जनले यो जनममा ।।
सतायो निर्धक्कै सित सहित आमा तन सदा ।
घमण्डी पाराले कपट पथले यो मन सदा ।।
गुमायो छोराले भनि कन सदा मातृ मनले ।
पुकारै आमाको नरकट भई भुल्छ खलले ।।
दया माया पाई जनम भरको सारा जिति सके ।
पछारे ख्यालैमा धन पति वनी यो अहम को ।।
सधै टेक्यो त्रि्रो उदर तलमा भाल उसले ।
धनै मात्रै पायो परम पद यो मात्र उसले ।।
हजारै ताराको चमक शशि हो गाज नभमा ।
शरीरै साराको हर दिन दयाले सकलमा ।।
रची माया सारा जनम जननीको गहभरी ।
उजागारै धर्ती सकल महिमा सत्य नगरी ।।

यही गाथा हाक्ने विधि मनुजको पालन पनि ।
गरे पूजा साराले रवि शशि सरी यो अवनिको ।।
उगायो दाान भै फसल कन सारा वल गरी ।
असान्तै भो सारा अवनि भर को यो छल गरी ।।
गरे पूजा साराल दिन हजारै नयनले ।
उगेकै दानाले उदर सवको भोग मिटने ।।
अराजै भो वेला परिणति भयो चक्र सवमा ।
विहानै भो धर्ती कपट सवको वक्र उपमा ।।
कमायो साराले फल पनि सबै यो जगतमा ।
सकीदै जानेहो तर अमर सेवा छ जनको ।।
सबैहूने स्थायी सकल जनको यो भुवनमा ।।
गरे श्रद्धा मात्रै विनय सित बस्ने अवनिमा ।।
यही माया सारा अतुल महिमा जन्म थलको ।
तरे पुर्खा सारा सब अमर भै यो जनममा ।।
घमण्डैले गर्दा सब बिमुख भो रात दिनको ।
निराशा भै मन्मा शरण गति भो यो जनमको
बिधाता इच्छाले तनमन बनायो जगतमा ।
लुकेकी आमाको पछि पछि हिडे काख पुरमा ।
सधै माया पाई स्कुल जब पढायो तनयको ।
सधै तर्से आँखा सकल ममता बाल डरको ।।
मचानैमा खेल्ने सहचर सखाका सग सगै ।
सधै गिल्ली डंण्डा रसिक मनले ख्वामित सगै ।।
कहाँ हाम्रो राम्रो बचपन भयो भन्छ घरमा ।
रमेरै काखैमा परम जननी का भरणमा ।।
भयो आजै मन्मा मद सहित आलेापन गरी ।
खुशीले जे गर्थे अतुलमय आमोद लहरी ।।
सदा माया छाया परम जननी साथ जगमा ।
उही धती माता निरतिशय आनन्द भवमा
तिमी हौ मेरी ता शशि पवन मेघा पनि सदा ।
तिमी सारा खानी धरणि नभ आत्मा पनि सदा ।।
यही के के लेखे विरह मनका ती पलहरु ।।
म के थाहा पाऊ धरणि जननी के छर बरु ।।
समीपै वा टाडै प्रतिदिन नमस्कार जननी ।
सताएँ मैले जो जनम जननी यो हजुर नी ।।
म माफै पाऊँ है म छु हजुरका यो चरणमा ।
अज्ञानी छौ माता घरिघरि नमस्कार पदमा ।।
सधै आषा राख्दै मलिन मनले यो धरणिमा ।
सधै देऊ आमा अभय मनको सार जगमा ।।
म पाऊको धूलो चरण रजले पार जगमा ।
चढाएँ पाऊँमा कुशुम मनमाला हजुरमा ।।
लक्ष्मी दत्त भट्ट “सत्यप्रेमी” दोधराचाँदनी – ४, विष्णुनगर कञ्चनपुर






























