
मैले डिँगे राजाकाे काेटकाे अवलाेकन भ्रमण गरेकाे झण्डै एक वर्ष हुन लाग्याे । आज मिति २०८१/०४/०८ गते मङ्गलबारका दिन फेरि एकचोटी उक्त काेटलाई सम्झेर केही कुराहरू लेख्ने मन लाग्याे । विभिन्न प्राचीन ऐतिहासिक स्थलहरूकाे अवलाेकन भ्रमणगर्ने क्रममा आज म डिँगे राजाकाे काेटकाे संक्षिप्त चिनारी वर्णन गर्न गइरहेकाे छु । दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका अन्तर्गत हुनैनाथ – ४ ऐरीछाना गाउँकाे उत्तर-पूर्वी दिसाकाे अग्लाे चुलीमा प्राचीन ऐतिहासिक डिँगे राजाकाे काेट (दरबार) रहेकाे छ । उक्त काेट मालिकार्जुन शैल्यशिखर धुरा पछिकाे सबैभन्दा अग्लाे स्थानमा रहेकाे छ ।

डिँगे राजाकाे काेटले शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकालाई छु्ट्याएकाे छ । जुन शैल्यशिखर नगरपालिकाकाे वार्ड नं. – ६ दाेबाटा र मालिकार्जुन गाउँपालिकाकाे वार्ड नं. – ४ ऐरीछानाबाट टाैटाक अग्लाे स्थानमा देख्न सकिन्छ । डिँगे राजाकाे काेटकाे बारेमा वर्णन गर्दैगर्दा मैले मनगडन्ते कुरा नलेखीकन स्वयंले प्रत्यक्ष अवलाेकन भ्रमणगरेर गाउँका अग्रज बृद्धबृद्धा, जानकारहरूकाट प्राप्त लाेकश्रुति, प्रत्यक्ष अवलाेकन गरेर सकेसम्म तथ्यपरक जानकारी पाठकहरू समक्ष संप्रेषण गर्ने प्रयत्न गरेकाे छु । याे काेटकाे प्रत्यक्ष अवलाेकन भ्रमणमा दत्तचित्तभइ सहयाेग पुर्याउने भ्राताद्वय राजेन्द्र सिंह धामी र महेश सिंह धामीलाई हृदयदेखि नै आभार व्यक्तगर्न चाहन्छु ।
डिँगे राजाकाे काेटकाे वर्णन गर्दा डिँगे र काेटकाे अर्थ स्पष्टपार्नु सान्दर्भिक हुन्छ । डिँगाेकाे अर्थ झाेकले वा मायले गाई गाेरुलाई भनिने शब्द ; डिङाे, मरेकाे जनावरकाे सिनाे, जवान गाई वा गाेरु, काम छली ठगेर खान पल्केकाे सुकुलगुण्डाे ; लट्ठक आदि भएपनि यस लेखमा डिँगेकाे अर्थ अरुलाई दुःख दिएर ठगेर खाने भन्ने अर्थ लाग्दछ । काेटकाे अर्थ चुली परेकाे र गढी तुल्याउन याेग्य स्थान, प्राचीन कालमा राज्यकाे सीमासुरक्षाकाे व्यवस्था गर्ने ठाउँ ; किल्ला ; दुर्ग ; गढी तथा माैलाे पुज्ने ठाउँ ( दसैँकाे बेला दुर्गादेवीकाे मन्दिर अगाडि राँगा, बाेकाकाे बलिदिने ठाउँ) वा पशुवध गरिने ठाउँ भएपनि यस लेखमा काेट भन्नाले राज्यकाे सीमासुरक्षाकाे व्यवस्था गर्ने ठाउँ वा दरबार भन्ने बुझ्नु पर्दछ ।

मेराे प्रत्यक्ष अवलाेकन भ्रमणका क्रममा मैले अवलाेकन गरेका चिजवस्तुहरू वा यस ठाउँकाे भाैगाेलिक अवस्थाकाे बारेमा चर्चा परिचर्चा नगर्दा याे लेखनै अधुराे हुने ठानेर संक्षिप्त वर्णन गर्ने प्रयास गरेकाे छु । यस डिँगे राजाकाे काेट अन्दाजी समुद्र सतहदेखि २००० देखि २५०० मिटरकाे उचाईमा रहेकाे छ । यहाँबाट शैल्यशिखर धुरा, देथला, टाढाकाे गाउँ थापाला, बलशिखर धुरा, हुनैनाथ औतालेक मन्दिर, कुणी गराडी, अमकुर, बन्ताेली, जयपुर, पाती, खरकडा, लाली लगायतका गाउँठाउँकाे प्रत्यक्ष अवलाेकन गर्न सकिन्छ । अग्लाे स्थानमा रहेकाे चुली (टाकुराे) भएकाेले टाढा टाढा सम्मकाे दृश्यावलाेकन गर्न सकिन्छ ।
गाउँका जानकारहरूका अनुसार डिँगे राजाले लालीकाे नजिकमा रहेकाे महाकाली नदीबाट आफ्ना भारदारहरू लगाएर पानी मगाउँथे रे ! जुन कुरामा सहमत हुने विश्वसनीय आधारहरूपनि छन् । अहिले पनि ऐरीछानाका बासिन्दाहरूले खानेपानीको समस्या झेल्दै आएका छन् । अहिले त मानव वस्ती विस्तारले गर्दा ऐरीछाना, दाेबाटा, देथला लगायतका गाउँहरूमा घरैघर देखिन्छन् । प्राचीन कालमा याे काेटकाे वरपर घना जङ्गल थियाे । काेटमा विशालकाय ढुङ्गाहरू रहेका छन् । हिंस्रक जनावर तथा शत्रुहरूबाट बच्न काेटकाे चारैतिर ठूला ठूला ढुङ्गाका आडहरू बनाइएका छन् । टाढाबाट हेर्दा चुचुराे जस्तै देखिने यस काेटमा पर्याप्त फराकिलो ठाउँ रहेकाे छ । प्राचीन कालीन ठुला ठुला ढुङ्गाहरूद्वारा वाल (भित्ता) तथा बाटाे निर्माण गरिएकाे प्रत्यक्ष अवलाेकनबाट देख्न सकिन्छ । यति मात्र नभएर काेटकाे छेउछाउमा सानाठूला धेरै ढुङ्गाहरूका थुप्राहरू रहेका छन् ।

अभयपालले डाेटीतिर राज्य स्थापना गरेकाे समय कुमाऊँ का इतिहास (बद्रीदत्त पाण्डे) नामक पुस्तकमा सन् १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेकाे पाइन्छ । अभयपालकाे डाेटी राज्यकाे स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरवार निर्माण गरेपछि उकुतिर राज्य बिस्तार गर्दै उकु महल निर्माण, आठ खस राजाहरूलाई हराई सकेपछि मात्र अस्काेटकाे राज्य स्थापना गरेका हुन् । यसरी अस्काेट विजयकाे समय भन्दा अघि उकु महलकाे निर्माण भएकाे इतिहास छ । तर यस काेटकाे निर्माणकाे ईतिहास खाेतल्दै जाँदा उकु महलकाे निर्माण भन्दा पनि अघिकाे हुन सक्ने कुरामा विश्वस्त हुन सकिने थुप्रै प्रमाणहरू छन् ।
डिँगे राजा तत्कालिन समयमा समाजमा विभिन्न उछृङ्खल तथा विध्वंसात्मक क्रियाकलाप गर्न थलेछन् । त्यस्ता असमाजिक क्रियाकलापहरूमा स्त्रीलम्पट, धामाल लुटपाटगर्ने, कसैकाे घरमा खसीबाेका भएपछि अनुमतिबिना आफू खुशी लैजाने, गाेरु तथा राँगाभैंसीकाे समेत बलिगरि मासु खाने, हुँदाहुँदा मानव बलि समेत गर्ने धृष्टता गर्न थालेछन् । गाईगाेरुकाे सिनाे खाने प्रवृत्ति समेत बढ्दै गएपछि रिठामा अभय राज पाण्डे, भीम राज भट्ट, निमनाथ याेगी, धाराधिरा पहलवान र सुरदास आउजी लगायतले मालिकार्जुन स्वामीकाे पुजन गर्दै आएकाे ज्याेतिर्लिङ्ग लाेपभएर शैल्यशिखर पर्वतमा गएर विराजमान हुनु भएछ । स्थानीय सरकारबाट उकु महलकाे संरक्षण तथा सम्बर्द्धनकाेलागि केही बजेट विनियाेजन गरे पनि डिँगे राजाकाे काेटकाे संरक्षण तथा उत्खननकालागि कत्ति पनि ध्यान नजानु दु:खद कुराे हाे । कम्तिमा पनि के रहेछ त भनेर अनुसन्धानकाे लागि समेत कुनै पक्ष वा निकायबाट केही पनि पहल गरिएकाे देखिएन ।
मैले यस लेखमा त्रिवेणी बहुमरखी क्याम्पसका उप-प्राध्यापक श्री बद्री सिंह खत्रीजीकाे डिँगे राजाकाे बारेमा भएकाे जानकारीलाई पनि उहाँकै शब्दमा संप्रेषण गर्न चाहे । उहाँकै शब्दमा “यसमा केही श्रुतिहरु जस्तै त्यो डिँगे राजाले जब अभयराज पाण्डेले कत्यूरबाट मालिकार्जुन ल्याएर आएर सिद्दको धर्ती (उपयुक्त), यस मानेमा कि मालिकार्जुनले कत्यूरबाट ल्याउँदा जहाँ पानीमा बत्ती बल्छ त्यो सिद्दको धर्ती हो । त्यहीँ बस्छु भनेको हुनाले रिठा गाउँ अहिलेको लेकम गाउँपालिका – ५ काे वडा कार्याल रहेको टोलको जाइझूलको न्वालाको पानीमा बत्ती बलेको हुनाले त्यस स्थान नजिक बास गरे भन्ने जनश्रुति रहेकाेछ र रिठामा बसेर अभयराजले मालिकार्जुनकाे पूजन काम गरेका थिए । पछि त्यो कुरा डिँगे राजा लाई थाहा भयाे र उसले रिसतथा इर्ष्यागर्न थाल्यो । नजिक फोहर पनि गर्न थाल्यो र पछि मालिकार्जुन यो फोहर गर्नेको ठाउमा म बस्दैन भनेर हालको शैल्यशिखर धुरा सवारी होइबक्सेको पनि भन्छन दाजु, आगे ….जानकार हरु लाई थाहा होला…”
काेटमा अति नै आकर्षक ढुङ्गा र ढुङ्गे चट्टानपनि रहेका छन् । उक्त काेटकाे उत्खनन् गर्न सकेमा गर्भगृहमा केही पाैराणिक वस्तुहरूपनि फेला पार्न सकिने कुरामापनि विश्वासगर्न सकिन्छ । मैले जे देखे, त्यही कुरा लेखेकाे व्यहाेरा अनुराेध गर्न चाहन्छु ।
धन्यवाद !
क्रमश: …
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी काेटबुङा, दार्चुला
स्राेत :
– पन्त, दयाकृष्ण (२०६७), दार्चुलाकाे इतिहास,
महेन्द्रनगर ।
– पाण्डेय, बद्रीदत्त (२०१९), कुमाऊँ का इतिहास,
भारत ।

















