
१) विद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापको पृष्ठभूमि :
शिक्षा नियमावली २०५९ को संशोधन सहित परिच्छेद १४ नियम ७६ मा विद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापको बारेमा उल्लेख गरिएकोछ । शिक्षक तथा विद्यार्थी दुबैको सक्रिय सहभागितामा संचालन गर्ने भनी उल्लेख गरेकोछ । विद्यालयले शुक्रबारको नियमित पठन पाठनको कार्य समाप्त भएपछि विद्यालयको अनुकूलतामा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अनिवार्य सहभागी गराउनुपर्ने व्यवस्था नियमावलीमा उल्लेख गरिएकोछ । विद्यार्थीहरुको शारीरिक, मानसिक, मनोबैज्ञानिक, सामाजिक र बौद्धिक विकास तथा मनको स्वच्छता, एकाग्रता र स्थिरताको लागि विद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापको औचित्य र सान्दर्भिकता रहेको पाइन्छ ।

विद्यालयमा संचालन गरिने कर्मकाण्डी कार्यशैली रुपी अतिरिक्त क्रियाकलापमा रुपान्तरण गरि विद्यार्थीहरुको सर्वाङ्गीण र वास्तविक सिकाइ, मूल्यांकन र उपलब्धि सँग जोडनु जरुरी छ । विविध स्वाभाव, पृष्ठभूमि र परिवेश बाट विद्यालयमा आएका विद्यार्थीहरुमा लुकेका, दबिएका र प्रस्फुटन हुन नसकेका अनगिन्ती प्रतिभाहरुको उजागर र पहिचान गर्न अतिरिक्त क्रियाकलापको खाँचो रहेकोछ । राज्यलाई आवश्यक पर्ने सम्पूर्ण किसिमको जनशक्तिको आधार स्तम्भ विद्यालय र विद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलाप भएकोले यसको प्रयोग, विकास , विस्तार र प्रवर्द्धनको लागि आर्थिक तथा समयको लगानी गर्नु अनिवार्य छ ।
२) विद्यालयले अतिरिक्त क्रियाकलाप संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरु:
– विद्यालयमा राष्ट्रियताको भावना जगाउने क्रियाकलापमा जोड दिने ।
– मनोरञ्जनात्मक क्रियाकलापमा जोड दिने ।
– राष्ट्रिय तथा स्थानीय संस्कृति वा कलाहरु प्रती अभिरुचि बढाउने किसिमका नाटक, नृत्य र लोक संगीतको अभ्यास तथा प्रतियोगिता संचालनमा ध्यान दिने ।
– विद्यार्थीहरुको शारीरिक विकास हुने विभिन्न किसिमका खेलकुदका कार्यक्रम संचालनमा जोड दिने ।
– विद्यार्थीहरुमा सामाजिक सेवा र वातावरण संरक्षण प्रती सचेतना बढाउने कार्यक्रममा विशेष ध्यान दिने ।
– विद्यार्थीहरुलाई विद्यालय, सामुदायिक स्थल वा अन्य स्थानमा सरसफाई र संरक्षण गर्ने कार्यमा जोड दिने ।
– विद्यार्थीहरुलाई विद्यालय बगैंचा, करेसावारीको निर्माण, वृक्षरोपण र साक्षरता जस्ता कार्यक्रमहरुमा सहभागी गराउने खालका क्रियाकलाप संचालनमा जोड दिने ।
– अन्तर्राष्ट्रिय, राष्ट्रिय, ऐतिहासिक, सामाजिक, धार्मिक आदि पक्षको महत्त्व बताउने कार्यक्रम संचालनमा जोड दिने ।
– विद्यार्थीहरुलाई स्काउट, जुनियर रेडक्रस जस्ता संस्थामा जोडिन प्रोत्साहित गर्ने कार्यक्रम संचालनमा जोड दिने ।

३) विद्यालयले देहाय बमोजिमका अतिरिक्त क्रियाकलाप संचालन गर्न सक्छ :
– चित्रकला र हस्तकला कार्यक्रम
– वाद्यवादन कार्यक्रम
– नृत्य कार्यक्रम
– नाटक कार्यक्रम
– वक्तृतकला कार्यक्रम
– हाजिरी जवाफ कार्यक्रम
– हिज्जे कार्यक्रम
– खेलकूद कार्यक्रम
– साहित्यिक गतिविधि, कविता र निबन्ध कार्यक्रम
– फूलबारी कार्यक्रम
– द्रुत लेखन, पठन र हस्तलेखन कार्यक्रम
– संवाद प्रदर्शन, पत्रलेखन र प्रतिवेदन लेखन प्रतियोगिता
– अन्य कार्यक्रम

४) विद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापको उपादेयता :
– विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकास गर्न ।
– विद्यार्थीहरुको शारीरिक, मानसिक, मनोबैज्ञानिक, सामाजिक र बौद्धिक विकास गर्न ।
– विद्यार्थीहरुमा अनुशासन र नियमको पालना गर्न सहयोग गर्दछ ।
– विद्यार्थीहरुलाई रचनात्मक, सिर्जनात्मक र सकारात्मक बनाउन सहयोग गर्दछ ।
– विद्यार्थीहरुमा सहयोग गर्ने र एकापसमा मिलेर काम गर्ने बानी निर्माण गर्न ।
– विद्यार्थीहरुलाई समूहमा मिलेर कार्य गर्ने शैली विकास गर्न ।
– विद्यार्थीहरुलाई सामाजिकीकरण गर्न ।
– विद्यार्थीहरुमा विभिन्न किसिमका सीप विकास गर्न ।
– विद्यार्थीहरुमा सामाजिक सेवाको भावना विकास र अभिवृद्धि गर्न ।
– विद्यार्थीहरुलाई वातावरण संरक्षण प्रती चेतना बढाउन ।
– विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास गर्न ।
– विद्यार्थीहरुलाई विद्यालय प्रति अपनत्वको भावना विकास गर्न ।
– उपलब्ध स्रोत साधनको उचित प्रयोग, विकास र संरक्षण गर्ने ज्ञान प्रदान गर्न ।
– विद्यार्थीहरुमा हुने पढाएको थकान वा बोझ कम गरि मनोरञ्जन प्रदान गर्न ।
– विद्यार्थीहरुमा हुने विविध प्रचुर क्षमताको प्रस्फुटन गर्ने अवसर प्रदान गर्न ।
– विद्यार्थीहरुलाई सिकाइ प्रति थप कृयाशील र सक्रिय तुल्याउन ।
– विद्यार्थीहरुको भित्र लुकेर, दबिएर र अव्यक्त रूपमा बसेर रहेको अनगिन्ती क्षमताको पहिचान गर्न ।
– विद्यार्थीहरुलाई असल, सभ्य, नैतिक, जिम्मेवार, गुणी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन ।
– परिवार, विद्यालय, समाज, राष्ट्र र विश्व प्रति स्नेहको भावना विकास गर्न ।
– राज्यलाई आवश्यक पर्ने विविध किसिमको जनशक्ति निर्माणको आधार तयार पार्न ।
५) विद्यालयले संचालन गर्ने अतिरिक्त क्रियाकलापमा देखिएका समस्याहरु :
– स्रोत साधनको अप्रयाप्तता रहनु,
– विद्यालयले अतिरिक्त क्रियाकलापलाई कम महत्त्व र प्राथमिकतामा राख्नु,
– विद्यालयले संचालन गर्ने अतिरिक्त क्रियाकलापको व्यवस्थापन, रेखदेख र परिचालनमा सुस्तता हुनु
– प्रशस्त भौतिक पूर्वाधारको सुविधा नहुनु र भएका पनि प्रयोग नहुनु ।
– अतिरिक्त क्रियाकलाप पनि सिकाइको एउटा अंश हो भन्ने बुझाइको कमि हुनु ।
– विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको महत्त्वलाई राम्रोसँग बुझाउन असक्षम हुनु।
– विद्यालयहरुलाई किताब पढनु मात्रै सबै कुरो हो भन्ने बुझाइ हुनु ।
– अतिरिक्त क्रियाकलाप प्रतिको सकारात्मक चिन्तनको कमी हुनु ।
– सरोकारवालाहरुको साथ सहयोग, समन्वय र सहकार्यको अभाव रहनु ।
– राज्यको स्पष्ट नीति नहुनु र भएका नीतिको व्यवस्थित कार्यान्वयन नहुनु ।
– अतिरिक्त क्रियाकलापमा विद्यालयको लगानी न्यून हुनु ।
– जनशक्तिको अभाव हुनु ।
– अतिरिक्त क्रियाकलापलाई सिकाइ प्रक्रिया, मूल्यांकन प्रणाली र नतिजा सँग जोडन नसक्नु आदि आदि समस्याहरु रहेकाछन ।
उपसंहार : अहिले विद्यालयले संचालन गर्ने अतिरिक्त क्रियाकलाप कर्म काण्ड रुपी रहेको स्थिति छ । यसलाई साच्चिकै रूपमा सिकाइ प्रक्रिया लाई सहयोग गर्ने, मूल्यांकन प्रणाली सँग आबद्ध हुने गरि र विद्यार्थीहरुको सम्पूर्ण पक्षको विकास हुने गरि संचालन गर्नु जरुरी छ । नीतिगत, व्यवस्थापकीय, कार्यक्रमगत समस्याहरुलाई समाधान गरि संचालन गर्न सके विद्यार्थीहरुलाई योग्य नागरिकको रूपमा तयार पार्न सकिन्छ । अतिरिक्त क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध, परिणाममुखी र विद्यार्थी केन्द्रित हुने गरि हरेक विद्यालयहरुले संचालन गर्नु आजको खाँचो रहेकोछ ।
लेखक : विनोद सिंह धामी ( विन्दास)
शिक्षक





























