
यस वर्ष जुम्लामा स्याउ निर्यातबाट ४० करोड भित्रिने अनुमान गरिएको छ । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउको निर्यातबाट झन्डै ४० करोड भित्रिने अनुमान गरिएको हो । यति बेला जुम्लामा स्याउ सङ्कलन र निर्यात गर्ने चटारो छ । व्यापारी किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका छन् । भने किसान र व्यापारिकको आपसी समझदारीमै मूल्य तोकिएको छ ।

कृषि विकास कार्यालय जुम्लाले यहाँका आठै पालिकामा रहेका किसानहरूको बगैँचामा पुगेर, खरिद विक्रीको न्यूनतमदेखि अधिकतम मूल्यको प्रक्षेपण गरेअनुसार जुम्लामा यस वर्ष १४ हजार मेट्रिक टन स्याउ उत्पादन हुने देखिएको छ । उत्पादनको सबैभन्दा बढी हिस्सा गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकाले ओगटेको छ । गुठिचौरमा नेपालकै दोस्रो ठुलो करिब २२ हेक्टर जमिनमा फैलिएको स्याउ बगैँचा छ । अर्को गुठिचौरमै १७ हजार हेक्टरमा फैलिएको बगैँचा छ । ती बगैँचाबाट दर्जनौँले रोजगारी पाउनुका साथै स्याउ खेतीमा क्रान्ति नै ल्याएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्लामा यस वर्ष १४ हजार मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको बताउनुभयो । उहाँका अनुसार उत्पादन भएको १४ हजार मेट्रिक टनमध्ये १० हजार मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात हुने भएको छ । बाँकी चार हजार मेट्रिक टन स्याउ जुम्लामै खपत हुने अनुमान छ ।

जुम्लाको आठ पालिकामध्ये गुठिचौर, चन्दननाथ र पातारासीमा स्याउ उत्पादन राम्रो भएको छ । अन्य पाँच पालिकामा अपेक्षित रूपमा स्याउ उत्पादन हुन नसकेको कृषि विकास कार्यालयले जनाएको छ ।






























