
अत्तरिया : कैलालीको स्याउलेमा जारी गौरा पर्व मेलाको आज समापन गरिने भएको छ । गोदावरी नगरपालीका वडा नम्बर ८ स्थित स्याउलेमा १० गतेबाट शुरु भएको गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रमको आज समापन गरिने भएको हो ।

स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा एक हप्ता सम्म सञ्चालन भएको उक्त मेला आज एक औपचारिक कार्यक्रमका बिच समापन गरिने मेला सञ्चालन समितिका संयोजक गोपाल देउवाले जानकारी दिए । उनले मेलामा आज पनि देउडा कलाकारहरुको देउडा खेल हुने बताए । सात दिनसम्म सञ्चालन भएको गोरा पर्व मेलामा स्थानिय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकारहरुको सहभागितामा देउडा खेल भएको थियो ।

सुदूरपश्चिममा मनाइने मुख्य पर्व गौरा यो बर्ष सकिएको छ । भाद्र कृष्ण पञ्चमीबाट शुरु भएको गौरा पर्व ठाउँ परिवेश अनुुसार फरक-फरक दिन समापन गर्ने गरिन्छ । हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र कृष्ण पक्षमा परेको थियो । भाद्र कृष्ण पञ्चमीका दिन बिरुडापञ्चमीबाट शुरु भएको गौरा अधिकांश ठाउँमा सेलाई सकिएको छ ।

अमुक्ताभरण सप्तमीका दिन भित्र्याएको गौराको बिदाईको दिन गौरा सेलाउने भन्ने चलन रही आएको छ । गौरा सेलाउनुअघि सुदूरपश्चिम लगायत काठमाण्डौको टुंडिखेलमा समेत देउडा खेल खेल्ने गर्दछन् । गौरा पर्वले सुदूरपश्चिममा कबिर एक हप्ता जति निकै रौनक छाएको छ ।































