
पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । दुई दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।































