
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाउने भएको छ ।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले विभिन्न गैरसरकारी संस्थाहरुसंगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाउने भएको हो ।
उत्त विषयमा शाखाले आईतबार नगर उप प्रमुख शारदा देवी रोकायाको संयोजकत्वमा सरोकारवाला पक्षहरुसंग छलफल गरेको छ । छलफलमा लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि विद्यालय लगायतका ठाउँहरुमा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ ।


सोमबार बिहान साढे दश बजे नगरपरिसरमा दिप प्रज्वलन गरि अभियानको थालनी गरिने शाखाले जनाएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ ।
सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन राफेल ट्रिजुलो तानासाही सरकारले मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेपछि ल्याटिन अमेरिकी देशमा हिंसाविरुद्धको दिवसको रूपमा मनाउन थालिएको थियो ।
पछि सन १९९९ मा संयुक्त राष्ट्र सङ्घले यसलाई आत्मसात् गरेर नोभेम्बर २५ को दिनलाई संसारभर नै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरेको छ ।































