
अत्तरिया: गोदावरी नगरपालिका वडा नं. २, ३, र १० का २० जना सहभागीहरूको लागि “कार्यस्थलमा आधारित सीप विकास तथा जीवन उपयोगी सडक मर्मत सम्भार” विषयक ५० दिने तालिम २०८१ मसिर २१ गतेदेखि चौकीडाँडामा सुरु भएको छ।

तालिमको उद्घाटन गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले ब्यानर वाचन गरेर गरेका हुन्।

कार्यक्रममा रोजगार संयोजक रोहित प्रसाद जोशीले तालिम अवधिभर सहभागीहरूले ३३,४०० रुपैयाँ आर्थिक सहयोग पाउने जानकारी दिए। उनले तालिमको उद्देश्य गाउँबस्तीका महिला, दलित, र जनजाति समुदायलाई रोजगार सृजना गरी जीवनस्तर सुधार गर्नु रहेको बताए।


नगर प्रमुख भट्टले गरिबीको रेखामुनि रहेका महिलाहरूलाई स्वरोजगार र आर्थिक सहयोगमार्फत सामाजिक र आर्थिक सशक्तीकरण गर्ने सरकारको योजनाबारे प्रकाश पारे।

तालिमका प्रशिक्षक गंगा दत्त भट्टले सहभागीहरूलाई नियमित उपस्थित भई सीप र ज्ञान हासिल गर्न सुझाव दिए।
तालिम Trace Nepal Pvt. Ltd., धनगढीको प्राविधिक सहकार्य र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। यसको आयोजना गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रले गरेको हो।






























