
पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म १४,२१३ नेपालीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको हो।


अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो। मन्त्रालयले डिसेम्बर १६ देखि २२ सम्म साताव्यापी कार्यक्रम गरी यो दिवस मनाइरहेको छ। मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रम आयोजना भइरहेको छ।
गम्भीर चोटपटक र बिरामीको संख्या पनि उच्च
बोर्डका अनुसार, सोही अवधिमा ३,४४० श्रमिक गम्भीर बिरामी वा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन्। यस्ता श्रमिकलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको श्रम मन्त्रालयले जनाएको छ।
नेपालबाट हालसम्म १११ मुलुकमा नागरिक आप्रवासी श्रमिकका रूपमा गएका छन्। यो तथ्यांकले श्रमिकका लागि सुरक्षित वातावरण सिर्जना गर्न र उनीहरूका हकहित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
वैदेशिक रोजगारीको आर्थिक योगदान
राष्ट्र बैंकका अनुसार आव २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको छ। सोही वर्ष ८०,१७२ महिलासहित ७,४१,२९७ जना श्रमिकले वैदेशिक रोजगारीमा गएका छन्।
विश्व बैंकको अक्टोबर २०२४ को प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान एक चौथाइभन्दा बढी रहेको छ।
दिवस मनाउन सरकार सक्रिय
संयुक्त राष्ट्रसंघले सन् १९९० मा आप्रवासी श्रमिकका अधिकारका लागि महासन्धि पारित गरी सन् २००३ देखि डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउँदै आएको छ। नेपालमा पनि सरकारी, गैरसरकारी र नागरिक समाजको सहकार्यमा हरेक वर्ष यो दिवस मनाइन्छ।
सरकारका नीति र कार्यक्रम
सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रमसम्बन्धी कानुनमा परिमार्जन, निःशुल्क अभिमुखीकरण तालिम, थप गन्तव्य मुलुकसँग श्रम सम्झौता, र रिटर्नी उद्यमशीलता कार्यक्रमजस्ता योजनालाई प्राथमिकता दिएको छ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु हुनेको संख्या उच्च हुनु र गम्भीर चोटपटकका घटनाले श्रमिकका लागि सुरक्षा र सम्मानजनक रोजगारीको आवश्यकता थप महत्त्वपूर्ण भएको संकेत गर्छ।






























