
एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर फोरको दोस्रो खेल खेल्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुमान ओभलमा हुने खेल बिहान ११:४५ बजे सुरु हुनेछ।

पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बनेर सुपर फोरमा स्थान बनाएको हो। सुपर फोरको पहिलो खेलमा श्रीलंकाविरुद्ध वर्षाका कारण खेल रद्द भएपछि नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण खेल खेल्न लागेको हो।
फाइनल पुग्ने अवसर
नेपालका लागि आजको खेल निर्णायक छ। बंगलादेशलाई पराजित गरेमा नेपाल फाइनलमा प्रवेश गर्नेछ। तर, वर्षाका कारण खेल रद्द भए बंगलादेशले रनरेटमा नेपाललाई पछि पार्दै फाइनल यात्रा तय गर्नेछ।


अंकतालिका र रनरेट
नेपालको अंक: समूह चरणमा ३ र श्रीलंकासँगको खेलको १ अंक जोड्दै नेपालले हालसम्म ४ अंक हासिल गरेको छ।
बंगलादेशको अंक: ४ अंक रहे पनि उच्च रनरेटका कारण बंगलादेश दोस्रो स्थानमा छ।
नेपाली टिमको ऐतिहासिक यात्रा
यो वर्ष पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपालले प्रभावशाली प्रदर्शन गर्दै सुपर फोरसम्मको यात्रा तय गरेको छ। आजको खेल नेपालका लागि फाइनलमा स्थान बनाउने ऐतिहासिक अवसर हो।
खेल वर्षाले प्रभावित भएमा फाइनलमा पुग्नका लागि नेपाललाई उत्कृष्ट रनरेट बनाउनुपर्ने दबाब हुनेछ। खेलको प्रतिक्षामा नेपाली क्रिकेटप्रेमी उत्साहित छन्।






























