
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने साँस्कृतिक पर्व ‘भुवा’ सुरु भएको छ । भुवाकाे विभिन्न अर्थ लागेपनि भुवा पर्वकाे हकमा भुवाकाे अर्थ खरानी भन्ने हुन्छ । महाभारतको कथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् । मैले पनि आज पाैष – १५ औंसीका दिन बिहानै मेरै घरकाे छेछमा चउरमा भुवा खेलिरहेका बझाङी समाजमा सहभागी भएर भुवा खेल्ने अवसर पाए । सह्रै रमाइलो लाग्याे । भारतमा पाण्डव र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो ।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल लिएर नाचिने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीहरूमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् । खासमा त्यो भुवा पर्वको उल्लास हो । भुवाको सुरुको दिन राँके जुलुस निकालेर सबै जना एकै ठाउँमा जम्मा भएर रातभर गीत, मागल (मङ्गल कार्यमा गाइने गीत) गाउने प्रचलन छ । पञ्चेबाजाका साथ खेलिने भुवा पर्वको खेलमा पुरुषहरु हातमा तरवार र खुकुरी लिएर युद्ध कलाको प्रर्दशनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने गर्दछन । सुदूरपश्चिमका पहाडी जिल्लामा आजबाट साँस्कृतिक पर्व ‘भुवा’ शुरु भएको छ । महाभारतको कथा (पाण्डव र कौरबको युद्ध) गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ भन्ने गर्छन् । मौलिक लय र भाकामा खेलिने भुवाको आफ्नै महत्व छ ।
यो बाजुरामा निकै ताम झामका साथ मनाइन्छ । त्यस्तै डोटी, अछाम, बझाङ्ग र मध्य पश्चिमका विभीन्न जिल्लामा पनि यो पर्व हर्षोल्लासका साथ मनाईन्छ । हाम्राे माैलिक सँस्कृति, परम्परा अनेकतामा एकता र एकतामा अनेकता भएपनि सुदूरपश्चिमका सबै जिल्लामा यस्ता सँस्कृतिहरूकाे जगेर्ना गर्नु जरुरी छ । भुवा पर्व बाजुरा, अछाम, डाेटी लगायतका जिल्लामा धुमधामपूर्वक मनाइएपनि दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लाहरूमा याे पर्वलाई खासै महत्त्व दिएकाे पाइदैन । यस्ता माैलिक पर्वहरूमा एकरुपता कायमगर्न सकेमा अझै परम्परागत पुरातन सँस्कृति, रीतिरिवाज , चालचलनहरू, सामाजिक मूल्यमान्यताहरूकाे जगेर्नामा टेवा पुग्ने विश्वास गरिन्छ ।

पुसे औंसीको राति भुवाखाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाना बनाएर खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाललाई कालो रङ्गले पोतिन्छ । तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।
द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो च्यादरजस्तो पहिरनुपर्छ । टाउकोमा सेताे पगरी बाँधिन्छ ।
दिउँसोको समयमा भुवाखाडोमा गएपछि त्यसको रौनक शुरु हुन्छ । बाजा–गाजा, लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल–तरबार बाजागाजा भुवाको लयमा चम्कन सुरु हुन्छ। बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवा खेल्ने गरिन्छ। खेलमा २० वटाभन्दा बढी चाल वा लय र ६३ कवच हुन्छन्।
यो पर्वमा छरछिमेकहरूले आ-आफनो घरमा मिठामिठा परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । यस पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउने जनविश्वास रहेकाे छ ।

हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घरघरमागई भोस्को खेल्दा जसबाट घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ । यति मात्र नभएर बाजागाजसहित नाचगानगर्दा शारीरिक तन्दुरुस्ती समेत प्राप्तहुने कुरामा विश्वस्त हुन सकिन्छ ।
प्राचीन युद्ध कलालाई राजा रजौटाहरूले अनुशरण गर्दै आएको र हालसम्म चल्दै आएको बताइन्छ । राजा रजौटाहरूले आफ्ना भाइ भारदार लगायत प्रजाहरूलाई आत्मरक्षाका लागि खेतीपातीको काम सकिएपछि फुर्सदको समयमा ढाल तरबारसँग खेल्न सिकाएको जनविश्वास छ ।
लोक सँस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने ‘भुवा’ पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ । पञ्चेबाजाका साथ खेलिने ‘भुवा’ पर्व बाजुरा लगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङ लगायतका जिल्लामा धुमधामपूर्वक मनाउने प्रचलन छ ।
समग्रमा याे पर्वलाई जाडाे माैसममा आगाे ताप्दै बाजागाजा सहित रमाइलोगर्दै नाचगानगर्ने, खानाका मिठामिठा परिकार बनाएर खाने, दिदीबहिनी, इष्टमित्रहरूसँग भेटघाट, आत्मीयता गाँस्ने, एकआपसमा भाइचारा, बन्धुत्वकाे भावना कायमगर्ने पर्वकाे रुपमा लिन सकिन्छ । याे पर्वलाई सुदूरपश्चिमका सबै जिल्लामा एकरुपता कायमगर्नकाेलागि सँस्कृतिविद, समाजसेवी, शिक्षाविद लगायत राज्यपक्षबाटपनि जनचेतना जगाउनु जरुरी छ । अन्त्यमा भुवा पर्वकाे सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु । धन्यवाद !!!
मान सिंह धामी (भाैनबाटी)
मालिकनर्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी
दार्चुला






























