बैंकिङ पहुँच पर्याप्त भए पनि परिणाम चित्तबुझ्दो छैन: उद्योगमन्त्री भण्डारी

Image
Nisarga Hospital

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय सेवा पुगे पनि त्यसको प्रभावकारिता चित्तबुझ्दो नरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।

CP Hospital Dhangadhi

मन्त्री भण्डारीका अनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको भए पनि त्यसले अपेक्षित नतिजा दिन सकेको छैन। “तथ्यांकमा बैंकिङ सेवा पुगेको देखिन सक्छ, तर स्थानीय तहमा बैंकहरूले प्रभावकारी काम गरेका छैनन्,” उनले भने।

बैंकहरूको कमजोरीमाथि आलोचना
मन्त्री भण्डारीले बैंकहरूले सामाजिक सुरक्षा भत्ता, सरकारी कारोबार, र कर्मचारीका तलब वितरण जस्ता कार्यमा मात्रै सीमित रहेको बताए। “स्थानीय तहमा रहेका बैंकहरूले जल, जङ्गल, जमिन, खानी र उद्योग जस्ता सम्भावनाको खोजीमा ध्यान दिनुपर्ने आवश्यकता छ,” उनले थपे।

nawajiwan

उनका अनुसार बैंकहरूले केवल सेवा पुर्‍याउने काम गरेर मात्रै आर्थिक समृद्धि सम्भव हुँदैन। स्थानीय स्रोत र सम्भावनाको अध्ययन गर्दै आर्थिक गतिविधि प्रवर्द्धन गर्नुपर्नेमा बैंकहरू असफल भएको उनको धारणा छ।

Attariya Hospital

मन्त्री भण्डारीले वित्तीय क्षेत्रको विकासमा सरकारको निर्देशनलाई कार्यान्वयन गराउने निजी क्षेत्र, बैंकर्स, र उद्योग व्यवसायीको भूमिकालाई महत्वपूर्ण मान्यता दिए। उनले विगतका कतिपय नीतिहरू अवरोध बनेको र अब तिनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने सरकारको धारणा रहेको बताए।

“बैंकहरू पहाड, तराई र राजधानीमा मात्र सीमित भएका छन्। यसले मानिसहरूलाई विदेश पलायनतर्फ उक्साएको छ। अब हामीले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन बैंकहरूलाई यथार्थ सम्भावनाको खोजीमा लाग्न प्रेरित गर्नुपर्छ,” उनले भने।

मन्त्री भण्डारीको यो अभिव्यक्तिले स्थानीय तहमा बैंकिङ सेवा विस्तारलाई मात्र उपलब्धि मान्न नसकिने र आर्थिक प्रणालीलाई थप सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।