
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, उप-प्रमुख शारदा देवी रोकाया, र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले खुटिया नदीको अनुगमन गरेका छन्।

शुक्रबार कार्यपालिका सदस्य चन्द्रा भुल, वडा नम्बर ९ का अध्यक्ष रामलाल राना, वडा सदस्य उद्धव भट्राई तथा स्थानीयबासी सहितको टोलीले नदी क्षेत्रमा भइरहेको गतिविधिको निरीक्षण गरेको हो।


यसअघि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला समन्वय समितिकी अध्यक्ष टीका कुमारी चौधरी भुल सहितको टोलीले अवैध रूपमा उत्खनन् गरिरहेका सवारी साधनहरू नियन्त्रणमा लिएको थियो।


नगर प्रमुख भट्टले प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नगरेको ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् भएको पाइएकाले नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई कानुनी कारबाही गरिने बताए। साथै, मापदण्ड विपरीत उत्खनन् गर्ने ठेकेदार कम्पनीलाई समेत सचेत गराइएको छ।

उप-प्रमुख रोकायाले सम्झौता अनुसार मात्र काम गर्न आग्रह गर्दै गैरकानुनी गतिविधि दोहोरिए कानुनी कारबाही हुने चेतावनी दिइन्। प्रमुख प्रशासकीय अधिकृत भट्टले नगरपालिकाले ठेक्का लगाएको क्षेत्रमा मात्र उत्खनन् गर्नुपर्ने नियम उल्लंघन भएको जानकारी दिए।

नियमविपरीत आईई अनुमोदित क्षेत्रभन्दा बाहिर उत्खनन् गर्ने सवारी साधनहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ। अनुगमनका क्रममा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ।






























