
भीम सार्कीको अर्धशतकको मद्दतले सिवाईसी अत्तरियाले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ।

अत्तरियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी, बैतडीले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। दशरथका लागि हिमाल दुलियाले ३३ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३९ रन जोडे। बसन्त खत्रीले १४ बलमा २ छक्का प्रहार गर्दै २३ रन बनाए भने सुमित बडालले ९ बलमा २ छक्कासहित १८ रनको योगदान दिए।
बलिङतर्फ अत्तरियाका विवेक यादवले ४ विकेट लिए भने साहब आलम र कमल गुप्ताले समान २-२ विकेट लिए। दिपेश कडेलले १ विकेट हात पारे।


यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनायो। भीम सार्कीले नट आउट ७० रनको शानदार पारी खेले, जसमा ३३ बलमा ६ चौका र ४ छक्का सामेल थिए। विवेक यादवसँग उनले चौथो विकेटका लागि अविजित १०० रनको साझेदारी गरे। विवेकले १७ बलमा ३ चौकासहित नट आउट २५ रन जोडे।
ओपनर तृत राज दासले ३० रन बनाए भने कप्तान सन्तोष कार्की ६ रनमै आउट भए। शंकर रानाले २५ रनको योगदान दिए। दशरथका लागि अमरसिंह राउटेलाले २ विकेट र रुपेश सिंहले १ विकेट लिए।






























