
आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव र स्थानीय वायुको समिश्रणका कारण वर्षा भइरहेको छ।


बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्र तथा अन्य प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसमविद्का अनुसार प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले अपराह्नतिर वर्षा भई रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ।
बुधबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो। गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली कोशी प्रदेश हुँदै बाहिरिएकाले बिहीबार राति पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ।
विगत चार दिनदेखि देशका विभिन्न स्थानमा मौसम बदली रहँदा हवाई उडानसमेत प्रभावित भएको छ।




























