नयाँ नामसँगै सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल नयाँ व्यवस्थापनसहित पुनःसञ्चालनमा आउदै

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१ मा रहेको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा ल्याइने भएको छ। अस्पतालको बिहीबार सम्पन्न तेस्रो विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएसँगै, अस्पताल पुनः सञ्चालनको तयारी थालिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

विगतमा प्राविधिक समस्या र व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल नियमित सञ्चालनमा ल्याउन नसकिएको जनाइएको छ। करिब एक वर्षदेखि बन्द अवस्थामा रहेको अस्पताल अब भने शीघ्र पुनः सञ्चालनमा ल्याइने अध्यक्ष लालमणि जोशीले जानकारी दिए। “हामी यहीँ महिनाभित्रै अस्पताल सञ्चालनमा ल्याएर सेवा दिन सुरु गर्छौं,” अध्यक्ष जोशीले भने, “सामुदायिक भावनासहित अस्पताललाई अघि बढाउने हाम्रो लक्ष्य हो।”

उनका अनुसार १५ १५ बेटबाट सुरु गरिएको अस्पतालले पहिले दिइरहेको सेवा नै प्राथमिकताका साथ सुरु गरिनेछ। जनशक्तिको आवश्यक तयारी पूरा भइसकेको र अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक संरचना समेत प्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ।

पूर्व समितिले अस्पताल बन्द गर्न बाध्य भएको स्वीकार गर्दै, सम्पूर्ण जिम्मेवारी नयाँ समितिलाई हस्तान्तरण गरेर आफूहरूले विदाई लिएको जनाएको छ। नयाँ कार्यसमितिले भने अस्पतालको स्थायित्व र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

अध्यक्ष जोशीले सामुदायिक अस्पताल भएकाले सबैको हातेमालो र सहकार्य आवश्यक भएको उल्लेख गरे। “स्थानीय समुदाय, संघसंस्था र सरोकारवालाहरूको सहयोगमा अस्पताललाई मजबुत बनाउने हाम्रो अपेक्षा छ,” उनले भने।

स्थानीयवासी र सेवाग्राहीहरूमा अस्पताल पुनः सञ्चालन हुने खबरले आशा जागेको छ। जनस्वास्थ्यका लागि अत्यन्तै आवश्यक रहेको यो अस्पतालको निरन्तर सञ्चालन र सुधारमा सबै पक्षको सहयोग अपरिहार्य देखिएको छ। उक्त अस्पतालको नाम पनि फेरिने संस्थाका अध्यक्ष जोशीले बताएका छन् ।