
नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले लगातार चौथोपटक उपाधि रक्षा गर्न सफल भएको हो।

फाइनल खेलको विवरणसिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा पुलिस ६ विकेटले विजयी भयो। १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले ७० बलमा ६ चौका र ३ छक्कासहित ६१ रनको योगदान दिए। हमित श्रेष्ठले ३९ रन बनाए भने दिलिप नाथ ३१ रनमा अविजित रहे।
बलिङतर्फ आर्मीका शाहब आलमले ३ विकेट तथा नरेन साउदले १ विकेट लिए।

आर्मीको ब्याटिङ संघर्षपहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमै अलआउट भयो। आर्मीका बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८६ रन बनाए। २५ रनमै ५ विकेट गुमाएपछि बसिरले कप्तान विनोद भण्डारीसँग मिलेर ८० रनको साझेदारी गरेका थिए। विनोदले २९ रन बनाए भने विवेक यादवले ११ रनको योगदान दिए। अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।
पुलिसका लागि करण केसी र सागर ढकालले समान ३-३ विकेट लिए। कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट लिए।

प्रतिस्पर्धात्मक यात्रासमूह चरणमा दुवै टोलीले ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग समूह चरणको अन्तिम खेलमा पराजित भएको थियो।
गतवर्षको फाइनलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ पुलिसले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो। जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो।
सन् २०१७ को प्रधानमन्त्री कप फाइनलमा दुवै टोलीले संयुक्त उपाधि जितेका थिए। त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक मात्र जित्न सफल भएको छ। आर्मी २०१७ देखि प्रत्येक संस्करणमा फाइनल पुगे पनि पाँच पटक पराजित भएको छ। २०२१ मा भने एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो।
पुलिसले खेलेका चारै फाइनल जितेको छ। आर्मी र पुलिससँगै शीर्ष चारमा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भएका छन्।




























