
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई चार रनले पराजित गरेको छ। यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ भने कोलकाताको लगातार तेस्रो हारसहित चार अंक मात्र रहेको छ।

इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले तीन विकेट गुमाउँदै २३८ रनको विशाल योगफल तयार पारेको थियो। उसका लागि निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ८७ रन बनाए। मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्का प्रहार गर्दै ८१ रन जोडे। एडन माक्ररमले ४७ रन बनाए भने डेभिड मिलर चार रनमा अविजित रहे।
२३९ रनको चुनौती पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो। कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए भने वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रनको योगदान दिए। सुनील नारायणले ३० रन बनाए भने क्विन्टन डि कक १५ रनमा आउट भए।


जितका लागि अन्तिम प्रयासस्वरूप रिन्कु सिंहले अविजित रहँदै १५ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ३८ रन जोडे, तर त्यो प्रयास जितका लागि पर्याप्त हुन सकेन।
लखनउका बलर आकाश दीप र शार्दुल ठाकुरले समान रूपमा दुई–दुई विकेट लिए। कोलकाताका तर्फबाट हर्षित रानाले दुई विकेट हात पारे।




















